
Table of Contents
धर्मपुत्र भन्नाले कानुनी रूपमा धर्मपुत्र लिइएको छोरा वा छोरोसरह मानिने व्यक्तिलाई जनाइन्छ, जसलाई परम्परागत रूपमा सन्तानरहित दम्पती वा व्यक्तिले आफ्नो वंश, धर्म, सम्पत्ति वा कर्म निरन्तरता कायम राख्न धर्मपुत्र लिन्छन्। नेपालको सन्दर्भमा, धर्मपुत्र सम्बन्धी कानुनी प्रावधानहरू मुलुकी देवानी संहिता, २०७४ मा समावेश गरिएका छन्। यस संहिताले धर्मपुत्र लिने प्रक्रिया, योग्यता, कानुनी प्रभाव, तथा सम्पत्तिमा हक सम्बन्धी विषयहरू स्पष्ट रुपमा उल्लेख गरेको छ।
धर्मपुत्र सम्बन्धी कानुनले बच्चा धर्मपुत्र लिन कानुनी अनुमति प्राप्त गरिसकेपछि धर्मपुत्रलाई जैविक सन्तानसरह अधिकार दिने व्यवस्था गरेको छ । धर्मपुत्र लिने व्यक्तिले धर्मपुत्रलाई शिक्षा, पालनपोषण, तथा सम्पत्तिमा हक दिनु पर्ने हुन्छ। यसले बच्चाबिनाको दम्पतीलाई सामाजिक, पारिवारिक तथा भावनात्मक सन्तुलन दिनुका साथै अनाथ बालबालिकाको संरक्षणमा पनि मद्दत पु¥याउँछ।
तर, धर्मपुत्र बनाउनका लागि सम्बन्धित पक्षहरूको सहमति, उमेरको सिमा, र राज्यको कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। नेपालमा धर्मपुत्र सम्बन्धी कानुनले परम्परागत अभ्यासलाई न्यायसंगत र मानव अधिकारमैत्री बनाउने प्रयास गरेको छ।
धर्मपुत्र वा धर्मपुत्री राख्दा आवश्यक पर्ने पुर्वशर्तहरु
कस्तो अवस्थाका व्यक्तिले धर्मपुत्र वा धर्मपत्री राख्न सक्दछन भन्ने सम्बन्धमा कानूनमा स्पष्ट व्यवस्था गरिएको छ। कुनै दम्पतिको विवाह भएको दश वर्षसम्म पनि छोरा वा छोरी भएन भने उनीहरूले धर्मपुत्र वा धर्मपुत्री राख्न पाउँछन। यदि धर्मपुत्र वा धर्मपुत्री लिन चाहाने व्यक्ति महिला भएमा निजको उमेर पैंतालीस वर्ष पूरा भएको छर निज अविवाहित छन भने त्यस्ती महिलाले पनि धर्मपुत्र वा धर्मपुत्री राख्न पाउँछिन। छोराछोरी नभएको विधवा महिलाले पनि कानून बमोजिम धर्मपुत्र धर्मपुत्री राख्न सक्ने व्यवस्था छ। सम्बन्ध विच्छेद गरेर वा न्यायिक पृथकीकरण गरेर बसेकी छोरा वा छोरी नभएकी महिलाले पनि धर्मपुत्र वा धर्मपुत्री रास्न पाउँछन।।
परुषले धर्मपुत्र वा धर्मपुत्री राख्न चाहेमा पनि महिलाको जस्तै समान शर्त कानूनले तोकेको छ। पैतालीस वर्ष उमेर पूरा भएको अविवाहित, विधर, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेको छोरा वा छोरी नहुने परुषले धर्मपुत्र वा धर्मपुत्री राख्न पाउँछ। तर धर्मपुत्र वा धर्मपुत्री राख्न चाहने व्यक्तिको होस ठेगानमा नभएमा, त्यस्तो व्यक्ति नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको अवस्था भएमा अथवा नाबालकलाई पालनपोषण, स्वास्थ्य, शिक्षा, खेलकुद, मनोरञ्जन तथा हेरचाहको व्यवस्था गर्न सक्ने आर्थिक हैसियत नभएको व्यक्तिले धर्मपुत्र वा धर्मपुत्री राख्न पाउँदैन। पतिपत्नी सगोलमा रहेको अवस्थामा धर्मपुत्र वा न धर्मपुत्री राख्न चाहेमा एक अर्काको मन्जुरी लिनु पर्छ।
कानूनमा धर्मपुत्र वा धर्मपुत्री लिने वा दिने व्यक्ति र धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्ति कस्तो हुनु पर्दछ, कस्तो अवस्थाको व्यक्ति धर्मपुत्र वा धर्मपुत्री हुन सक्दछ र कस्तो अवस्थाको सक्दैन भन्ने व्यवस्था गरिएको छ। मुख्य रूपमा चौध वर्ष उमेर पूरा गरेको व्यक्तिलाई धर्मपुत्र लिन वा दिन हुँदैन। तर, तीन पुस्ताभित्रको नाताको व्यक्ति वा पत्नीको पूर्व पति तर्फ छोरा वा छोरी भएमा चौध वर्ष नाघेको व्यक्तिलाई पनि धर्मपुत्र वा धर्मपुत्री राख्न पाईन्छ। यसैगरी एउटा मात्र छोरा वा छोरीको रूपमा रहेको व्यक्तिलाई पनि धर्मपुत्र वा धर्मपुत्री लिन वा दिन हुँदैन। तर बाबु आमा पत्ता नलागेको, जीवित नभएको वा अर्को विवाह गरी बालबालिकालाई अन्य कुनै व्यक्ति वा संस्थाले पालनपोषण गरेको रहेछ भने त्यस्तो व्यक्ति वा संस्थाको लिखित सहमति लिई त्यस्ता बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न सकिन्छ।
एकपटक धर्मपुत्र वा धर्मपुत्री भै सकेका व्यक्तिलाई पुन धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिन दिन हुँदैन। उदाहरणको लागि मैले कुनै व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्री राखेको छु भने मैले पुन सोही व्यक्तिलाई धर्म पुत्र वा धर्मपुत्रीको रूपमा अर्को व्यक्तिलाई दिन मिल्दैन। तर बदर भएका धर्मपुत्र वा धर्मपुत्री पुनः धर्मपुत्र धर्मपुत्री हुन भने सक्छन। यदि धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्ति राख्ने व्यक्ति भन्दा माथिल्लो नाताको भएमा पनि धर्मपुत्र लिन दिन हुँदैन।
उदाहरणको लागि धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्ति काका वा काकी नाताको पर्ने तर धर्मपुत्र लिने व्यक्ति चाहिं भतिजो वा भतिजी नाता पर्ने रहेछ भने यस्तो धर्मपुत्र वा धर्मपुत्री लिन दिन हुँदैन। पुत्र वा पुत्री भनेको छोराछोरी भएको र छोराछोरीको रूपमा राखिने व्यक्ति माथिल्लो पुस्ताको हुनु उपयुक्त नहुने भएकोले कानूनले यस्तो प्रकारको धर्मपुत्र वा धर्मपुत्री राख्न नपाउने व्यवस्था गरेको पाइन्छ। धर्मपुत्र हुने व्यक्ति गैर नेपाली नागरिक रहेछ भने पनि त्यस्तो व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिन दिन हुँदैन। तर विदेशी नागरिकता प्राप्त गरेको गैरआवासीय नेपाली नागरिक रहेछ भने धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिन दिन हुन्छ।
धर्मपुत्र वा धर्मपुत्री हुने र धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको उमेर कम्तीमा २५ वर्ष फरक हुनु पर्छ। पच्चिस वर्ष भन्दा कम फरक उमेर भएको अवस्थामा धर्मपुत्र वा धर्मपुत्री लिन दिन पाइदैन। तर धर्मपुत्र वा धर्मपुत्री हुने र राख्ने व्यक्ति तीन पुस्ताभित्रको नाताका रहेछन भने चाहिँ त्यस्तो व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्री राख्दा उमेरको बन्देज लाग्दैन ।
धर्मपुत्र वा धर्मपुत्री राख्दा बालबालिकाका बाबु वा आमा दुवै जीवित भए दुवै जनाको र बाबु र आमामध्ये कुनै एक मात्र जीवित भए जीवित आमा वा वावुको लिखित सहमति लिनु पर्छ। यदि वैवाहिक सम्बन्ध अन्त्य भई वा न्यायिक पृथकीकरण भएको कारण बावु र आमा अलग भएको अवस्थामा बाबु वा आमा मध्ये जो सँग बसेको छ उसको सहमति लिनुपर्छ। कुनै व्यक्ति वा संस्थाले पालनपोषण वा हेरविचार गरेको रहेछ भने पालनपोषण वा हेरविचार गर्ने व्यक्ति वा संस्थाको लिखित सहमति लिनुपर्छ। दश वर्ष नाघेका बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्दा निजको समेत लिखित सहमति लिनु पर्छ। त्यस्तो लिखित सहमति बाबु आमा वा संरक्षक वा माथवरको रोहवरमा गर्नु पर्छ। सहमति लिनु अघि धर्मपुत्र वा धर्मपुत्री दिने व्यक्ति, संरक्षक वा माथवर तथा बालबालिकालाई, धर्मपुत्र वा धर्मपुत्रीको अर्थ, कानूनी हैसियत र त्यसको परिणाम समेतको विषयमा जानकारी गराउनु पर्छ। सहमति लिँदा कुनै किसिमको आर्थिक प्रलोभनमा पार्नु हुँदैन र त्यस्तो सहमति स्वेच्छाले दिएको हुनु पर्छ।
धर्मपुत्र वा धर्मपुत्री राख्न सक्ने ः (मुलुकी देवानी संहिता २०७४, दफा १६९)
(१) देहायका कुनै व्यक्तिले बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न सक्नेछ ः–
- विवाह भएको दश वर्षसम्म पनि छोरा वा छोरी नहुने दम्पति,
- पैँतालीस वर्ष उमेर पूरा भएकी अविवाहिता, विधवा, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेकी छोरा वा छोरी नहुने महिला,
- पैँतालीस वर्ष उमेर पूरा भएको अविवाहित, विधुर, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेको छोरा वा छोरी नहुने पुरुष ।
(२) कुनै व्यक्तिले धर्मपुत्र वा धर्मपुत्री राख्न सक्ने छैन ः–
- होस ठेगानमा नभएको,
- नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएकोे,
- नाबालकलाई पालनपोषण, स्वास्थ्य, शिक्षा, खेलकुद, मनोरञ्जन तथा हेरचाहको व्यवस्था गर्न सक्ने आर्थिक हैसियत नभएको ।
धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिन दिन नहुने ः (मुलुकी देवानी संहिता २०७४, दफा १७३)
(१) कसैले पनि देहायका कुनै व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिन वा दिन हुँदैनः–
- चौध वर्ष उमेर पूरा गरेको,
- एउटा मात्र छोरा वा छोरीको रूपमा रहेको, तर दफा १७५ को उपदफा (३) बमोजिमको अवस्थामा यो व्यवस्था लागू हुने छैन ।
- एकपटक धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिइएको, तर कानून बमोजिम धर्मपुत्र वा धर्मपुत्री बदर भएकोमा यो व्यवस्था लागू हुने छैन
- धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्ति भन्दा माथिल्लो नाताको,
- गैरनेपाली नागरिक । तर विदेशी नागरिकता प्राप्त गरेको गैरआवासीय नेपाली नागरिकको हकमा यस खण्डको व्यवस्था लागू हुने छैन ।
धर्मपुत्र वा धर्मपुत्री राख्दाको कार्यविधि
कसैले कुनै बालबालिकालाई धर्मपुत्र धर्मपुत्री राख्न चाहेमा रितपुर्वकको निवेदन सम्वन्धित जिल्ला अदालतमा दिनु पर्दछ। धर्मपुत्र वा धर्मपुत्री राख्नको लागि दिने निवेदनको ढाँचा देवानी कार्यविधि नियमावलीको अनुसूच ४० मा दिइएको छ। यसरी दिने निवेदनमा निवेदकको नाम, थर, लिङ्ग, उमेर, ठेगाना, बाबु, आमाको नाम, वाजे बज्यैको नाम उल्लेख गरेको हुन पर्दछ। यसैगरी धर्मपुत्र र धर्मपुत्री हुने व्यक्तिको पनि नाम, थर, लिङ्ग, उमेर, ठेगाना, धर्मपुत्र र धर्मपुत्री राख्ने व्यक्तिसँगको नाता, बाबु, आमाको नाम, बाजे, बज्यैको नाम, निजको सहमति भए नभएको व्यहोरा समेत सो निवेदनमा खुलाउनु पर्दछ। धर्मपुत्र राख्नुपर्ने कारण र निवेदकको आर्थिक हैसियत पनि निवेदनमा उल्लेख गरेको हुनु पर्दछ। यसका अतिरिक्त धर्मपुत्र वा धर्मपुत्री राख्न लागेको व्यक्ति धर्मपुत्र वा धर्मपुत्री हुन योग्य छ, धर्मपुत्र लिनदिन हुने अवस्थाको छ, कानूनले तोके बमोजिम उमेरको फरक पनि छर धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्तिको वावु आमाको सहमती समेत रहेको छ भन्ने व्यहोरा र त्यसलाई पुष्टिहुने प्रमाण समेत निवेदनमा समावेश गर्नु पर्दछ।
धर्मपुत्र वा धर्मपुत्री राख्नको लागि जिल्ला अदालतमा दिने निवेदनमा धर्मपुत्र र धर्मपुत्री राख्ने व्यक्तिको परिचय खुल्ने नागरिकताको प्रमाणपत्र वा राहदानी लगायतका कागज र धर्मपुत्र र धर्मपुत्री हुने व्यक्तिको पनि परिचय खुल्ने जन्मदर्ता लगायतका कागज संलग्न गर्नु पर्दछ। उनीहरूका बीचको नाता देखिने कागज तथा धर्मपुत्रधर्मपुत्री हुने र लिनेको दुई दुई प्रति फोटो समेत निवेदन साथ पेश गर्नु पर्दछ। यदि धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्ति दश वर्ष नाघेको भएमा त्यस्तो धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्तिको सहमतिको कागज र पतिपत्नीको धर्मपुत्र र धर्मपुत्री राख्ने स्वीकृक्तिको कागज पनि निवेदनसाथ संलग्न गर्नु पर्दछ।
यसरी परेको निवेदन रितपूर्वकको देखिएमा अदालतले सो निवेदन दर्ता कितावमा दर्ता गरेर सम्भव भएसम्म दर्ता भएकै दिनमा इजलास समक्ष पेशगर्नु पर्दछ। कानून बमोजिम धर्मपुत्रधर्मपुत्री लिन दिन हुने देखिएमा इजलासले सोही बमोजिमको निर्णय गर्नु पर्दछ। यसरी धर्मपुत्र वा धर्मपुत्री राख्न दिने निर्णय भएको अवस्थामा धर्मपुत्र वा धर्मपुत्री राख्ने र हुने व्यक्तिको सहमतीको कागज लेखेर अदालतमा पेश गर्नु पर्दछ। यसरी पेश गरेको सहमत्राको कागजमा धर्मपुत्र वा धर्मपुत्री राख्ने र हुने व्यक्तिको नामथर सहितको तीनपुस्ते विवरण उल्लेख गर्नु पर्दछ र सी लिखतमा धर्मपुत्र दिने व्यक्तिको समेत सहिछाप गरी धर्मपुत्रधर्मपुत्री लिने र दिने व्यक्तिको फोटो समेत टाँस्नु पर्छ। यस्तो लिखत दुई प्रति तयार गर्नु पर्दछ। यस्तो लिखत इजलासले धर्मपुत्रधर्मपुत्री राख्ने र हुने व्यक्तिलाई पढेर सुनाइ मतलव र परिणाम समेत सम्झाई धर्मपुत्रधर्मपुत्री राख्न मञ्जुर भएमा उक्त धर्मपुत्र धर्मपुत्री राखेको लिखत प्रमाणित गरिदिनु पर्दछ।
यसरी ईजलासबाट प्रमाणिकरण गरेको दुई प्रति लिखत मध्ये एक प्रति निवेदकलाई दिई एक प्रति अदालतमा अभिलेखको रूपमा राख्नु पर्छ। यदि निवेदन जाँचबुझ गर्दा निवेदकलाई धर्मपुत्र वा धर्मपुत्री राख्न दिन नहुने देखेमा जिल्ला अदालतले सोही बमोजिमको आदेश गरी निवेदकलाई त्यसको जानकारी दिनु पर्दछ।
धर्मपुत्र वा धर्मपुत्री राख्दाको कार्यविधि ः (मुलुकी देवानी संहिता २०७४, दफा १७७)
(१) कसैले कुनेै बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न चाहेमा कानूनको रीत पु¥याई धर्मपुत्र वा धर्मपुत्रीको लिखत सहित सम्बन्धित अदालतमा निवेदन दिनु पर्नेछ ।
(२) धर्मपुत्र वा धर्मपुत्रीको लिखत जाँचबुझ गर्दा निवेदकलाई धर्मपुत्र वा धर्मपुत्री राख्न दिन हुने देखेमा सम्बन्धित अदालतले धर्मपुत्र वा धर्मपुत्री राख्ने आदेश दिई त्यस्तो लिखत प्रमाणीकरण गर्नु पर्नेछ । –
(३) जाँचबुझ गर्दा निवेदकलाई धर्मपुत्र वा धर्मपुत्री राख्न दिन नहुने देखेमा अदालतले सोही बमोजिमको आदेश गरी निवेदकलाई त्यसको जानकारी दिनु पर्नेछ ।
धर्मपुत्र वा धर्मपुत्री तथा धर्म मातापिताको अधिकार तथा दायित्व
धर्मपुत्र सम्बन्धी अवधारणा निकै पुरानो अवधारणा हो। पछिल्लो समयमा धर्मपुत्री पनि राख्न पाउने कानूनी व्यवस्थाको विकास हुँदै आएको छ। छोराछोरीको अभावलाई पूर्ति गर्नको लागि नै धर्मपुत्र र धर्मपुत्री राख्ने व्यवस्था गरिएको हो। आफ्नो सन्तान नभएका वावु आमाले अरूको छोराछोरीलाई ल्याएर आफ्नै सन्तान सरह पालन पोषण गर्ने हुनाले धर्मपुत्र वा धर्मपुत्री भएपछि त्यस्ता छोराछोरीले नयाँ परिवारमा छोराछोरीले पाउनु पर्ने सम्पूर्ण अधिकारहरू प्राप्त गर्दछन। त्यस्ता छोराछोरीको कानूनी रूपमा नयाँ घरमा जन्म भएसरह मानिन्छ। धर्मपुत्र वा धर्मपुत्री भएपछि त्यस्ता छोराछोरीको आफु जन्मेको परिवारमा हक समाप्त भई धर्मपुत्र वा धर्मपुत्री भएको परिवारमा उसको हक अधिकार सिर्जना हुन पुग्दछ।
धर्मपुत्र र धर्मपुत्री राखेपछि धर्म पुत्र वा धर्मपुत्री हुने व्यक्ति र राख्ने वावुआमाका बीचमा निश्चित अधिकार र दायित्व सिर्जना हुन्छ। धर्मपुत्र वा धर्मपुत्री भैसकेपछि धर्मपुत्र वा धर्मपुत्रीको हक, अधिकार, दायित्व र जिम्मेवारी धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको छोरा वा छोरी सरह हुन्छ। यदि कुनै व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्री राखिसकेपछि धर्मपुत्र राख्नेको छोरा वा छोरी जन्मिए भने पनि त्यस्ता धर्मपुत्र वा धर्मपुत्रीको छोरा वा छोरी सरहको हैसियतमा कुनै असर पर्दैन। धर्मपुत्र वा धर्मपुत्रीको हैसियत छोरा वा छोरी सरह हुने भएकोले उनीहरूले धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्ने बाबु वा आमाको थर प्रयोग गर्न सक्दछन। यदि धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्तिले चाहेमा वावु र आमा दुवैको थर पनि प्रयोग गर्न सक्दछ। तर, धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्तिले चाहेमा निजलाई जन्माउने बाबु आमाको थर समेत प्रयोग गर्न सक्दछ। कानून बमोजिम धर्मपुत्र वा धर्मपुत्री बदर भएको अवस्थामा भने त्यस्तो धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्तिको थर निजलाई जन्माउने बाबु वा आमाको जे थर हो सोही थर कायम हुन्छ ।
धर्मपुत्र वा धर्मपुत्री भएपछि निजको अंशहक पनि धर्मपुत्र वा धर्मपुत्री राख्ने आमावावुमा नै सर्दछ। त्यसैले धर्मपुत्र वा धर्मपुत्री भएको व्यक्तिले आफूलाई जन्माउने बाबू आमाको अंशमा दाबी गर्न पाउँदैन। तर धर्मपुत्र वा धर्मपुत्री बदर भएको अवस्थामा भने निजले बाबु आमाको अंशमा दाबी गर्न पाउँछ। यदि धर्मपुत्र वा धर्मपुत्री हुँदाका बखत अंश लिइसकेको रहेछ भने चाहिँ निजले त्यस्तो सम्पत्ति समेत लिन पाउँछ।
धर्मपुत्र वा धर्मपुत्री राखीसकेपछि धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको निश्चित दायित्व सिर्जना हुन्छ । धर्मपुत्र वा धर्मपुत्रीलाई छोरा वा छोरी सरह आफ्नो इज्जत र क्षमता अनुसार पालनपोषण, स्वास्थ्य, खेलकूद, मनोरञ्जन तथा उचित शिक्षाको व्यवस्था गर्ने दायित्व धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिमा रहन्छ। धर्मपुत्र वा धर्मपुत्री राख्नेले आफुले राखेको धर्मपुत्र वा धर्मपुत्रीको हक र हितको संरक्षण गर्नु पर्दछ । धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले धर्मपुत्र वा धर्मपुत्रीलाई आवश्यक सुपरीवेक्षण, निगरानी, नियन्त्रण र संरक्षण गर्न सक्दछ। यसका अतरिक्ति कानून बमोजिम मातृक तथा पैत्रिक अख्तियारीको प्रयोग गर्न सक्दछ। धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले धर्मपुत्र वा धर्मपुत्रीलाई समय समयमा निजको जन्म दिने बाबु आमालाई भेटघाट तथा पत्राचार गर्ने सुविधा समेत दिनु पर्दछ। धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले आफुले पूरा गर्नुपर्ने कानून बमोजिमको दायित्व पूरा नगरेमा धर्मपुत्र वा धर्मपुत्रीले आफ्नो अंश छुट्याई भिन्न हुन सक्ने कानूनी व्यवस्था छ।
धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्तिले पनि आफुलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा राख्ने आमावावु प्रति निश्चित दायित्व पूरा गर्नु पर्ने हुन्छ। धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिलाई आफ्नो बाबु आमा सरह इज्जत तथा क्षमता अनुसार पालनपोषण, स्वास्थ्य तथा हेरचाहको व्यवस्था गर्नु पर्ने दायित्व धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्तिको हुन्छ। यसैगरी धर्मपुत्र वा धर्मपुत्रीले धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको सम्पत्तिको संरक्षण, हेरविचार तथा उचित व्यवस्थापन गर्नु पर्दछ। साथै धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको हक र हितको संरक्षण गर्ने दायित्व त्यस्ता धर्मपुत्र वा धर्मपुत्रीको हुन्छ। कुनै पति वा पत्नीले न्यायिक पृथकीकरण गरी वसेको अवस्थामा धर्मपुत्र वा धर्मपुत्री राखेको रहेछ भने पछि त्यस्ता पति वा पत्नी सगोलमा वसेभने त्यसरी वस्नु अघि राखेको धर्मपुत्र वा धर्मपुत्री दुबै दम्पतिले राखेको मानिन्छ।
धर्मपुत्र तथा धर्मपुत्री राख्ने तथा हुनेका बीचको अधिकार र दायितवका सम्बन्धमा सर्वोच्च अदालतबाट यसप्रकारले व्याख्या गरिएको छ ः धर्मपुत्र तथा धर्मपुत्री राख्ने र धर्मपुत्र धर्मपुत्री बस्ने बिचको सम्बन्ध जैविक वा प्राकृतिक सम्बन्ध नभई कानूनबाटस्थापित सम्बन्ध हो। कुनै व्यक्ति कसैको धर्मपुत्र तथा धर्मपुत्री हुने कुरा संविधानबाटस्थापित गरिएको हकको विषय होइन। धर्मपुत्र तथा धर्मपुत्री राख्ने र बस्ने व्यक्तिको बिचमा कानूनले तोकेको सर्तको अधीनमा रहि हुने आपसी सहमतिका आधारमा कानूनबमोजिमको लिखत भएपछिमात्र धर्मपुत्र तथा धर्मपुत्रीको हक र दायित्व सिर्जना हुन्छ। कानूनी सम्बन्धबाट सिर्जना हुने कानूनी अधिकारको उपभोग गर्दा कानूनले तोकेको सर्त र दायित्वको समेत पालना गरेको हुनु पर्दछ, अन्यथा त्यस्तो अधिकार अकाट्य वा नैसर्गिक अधिकारको रूपमा रहन सक्दैन। धर्मपुत्र धर्मपुत्री सम्बन्धी कानूनी व्यवस्थाले धर्मपुत्र धर्मपुत्री राख्ने र वस्ने दुवै पक्षले एकअर्काप्रति पुरा गर्नुपर्ने जिम्मेवारी कियन गरेको हुँदा उक्त कानूनी व्यवस्थालाई अनुचित मान्न मिल्दैन ।
धर्मपुत्र तथा धर्मपुत्रीले आफूलाई धर्मपुत्र धर्मपुत्री राख्नेउपर पुरा गर्नुपर्ने दायित्व पुरा नगरेको अवस्थामा मोबाटधर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको अधिकारमा पुग्न जाने असर वा क्षतिलाई समेत अनदेखा गर्न मिल्दैन ।
धर्मपुत्र वा धर्मपुत्रीको हक तथा अधिकार ः (मुलुकी देवानी संहिता २०७४, दफा १७८)
(१) धर्मपुत्र वा धर्मपुत्रीको हक, अधिकार, दायित्व र जिम्मेवारी धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको छोरा वा छोरी सरह हुनेछ ।
(२) कसैले कुनै व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्री राखिसकेपछि निजको छोरा वा छोरी जन्मिए पनि त्यस्ता धर्मपुत्र वा धर्मपुत्रीको छोरा वा छोरी सरहको हैसियतमा कुनै असर पर्ने छैन । १७९.
धर्मपुत्र वा धर्मपुत्रीको थर ः (मुलुकी देवानी संहिता २०७४, दफा १७९)
धर्मपुत्र वा धर्मपुत्री भएको व्यक्तिले धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्ने बाबु वा आमा वा दुवैको थर प्रयोग गर्न सक्नेछ । छठ धधध।बिधअयmmष्ककष्यल।नयख।लउ तर,
(१) धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्तिले चाहेमा निजलाई जन्माउने बाबु आमाको थर समेत प्रयोग गर्न सक्नेछ ।
(२) धर्मपुत्र वा धर्मपुत्री बदर भएमा निजको थर निजलाई जन्माउने बाबु वा आमाको हुनेछ ।
बाबु आमाको अंशमा दाबी गर्न नपाउने ः (मुलुकी देवानी संहिता २०७४, दफा १८०)
- धर्मपुत्र वा धर्मपुत्री भएको व्यक्तिले आफूलाई जन्माउने बाबु आमाको अंशमा दाबी गर्न पाउने छैन । तर, धर्मपुत्र वा धर्मपुत्री बदर भएकोमा निजले बाबु आमाको अंशमा दाबी गर्न पाउनेछ ।
- धर्मपुत्र वा धर्मपुत्री हुँदाका बखत निजले अंश लिइसकेको भए निजले त्यस्तो सम्पत्ति समेत लिन पाउनेछ ।
धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको दायित्व ः (मुलुकी देवानी संहिता २०७४, दफा १८१)
(१) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको दायित्व देहाय बमोजिम हुनेछ ः–
- धर्मपुत्र वा धर्मपुत्रीलाई छोरा वा छोरी सरह आफनो इज्जत र क्षमता अनुसार पालनपोषण, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा उचित शिक्षाको व्यवस्था गर्ने,
- धर्मपुत्र वा धर्मपुत्रीको हक र हितको संरक्षण गर्ने । (ग) यस भागको परिच्छेद–५ बमोजिमको अख्तियारी प्रयोग गर्ने।
(२) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले दायित्व पूरा नगरेमा धर्मपुत्र वा धर्मपुत्रीले आफनो अंश छुटयाई भिन्न हुन सक्नेछ ।
धर्मपुत्र वा धर्मपुत्रीको दायित्व ः (मुलुकी देवानी संहिता २०७४, दफा १८२)
धर्मपुत्र वा धर्मपुत्रीको दायित्व देहाय बमोजिम हुनेछ ः–
- धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिलाई आफनो बाबु आमा सरह इज्जत तथा क्षमता अनुसार पालनपोषण, स्वास्थ्य तथा हेरचाहको व्यवस्था गर्ने,
- धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको सम्पत्तिको संरक्षण, हेरविचार तथा उचित व्यवस्थापन गर्ने,
- धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको हक र हितको संरक्षण गर्ने ।
धर्मपुत्र वा धर्मपत्री बदर हने अवस्था (मुलुकी देवानी संहिता २०७४, दफा १८४)
कानूनले तोकेको शर्तको अधिनमा रहेर मात्र धर्मपुत्र वा धर्मपुत्री राख्न सक्ने हुनाले यदि कसैले कानून विपरित धर्मपुत्र वा धर्मपुत्री राखेमा त्यसले कानूनी मान्यता पाउँन सक्दैन । अवस्था अनुसार धर्मपुत्र वा धर्मपुत्री स्वतः बदर हुने व्यवस्था कानूनमा नै गरिएको छ भने कतिपय अवस्थामा धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्तिले वा धर्मपुत्र या धर्मपत्री राख्ने व्यक्तिले पनि बदर गराउन सक्ने व्यवस्था रहेको छ ।
धर्मपुत्र वा धर्मपुत्री स्वतः बदर हुने
छोरा हुने व्यक्तिले धर्मपुत्र राखेमा र छोरी हुने व्यक्तिले धर्मपुत्री राखेमा त्यस्तो धर्मपुत्र र धर्मपुत्री स्वतः बदर हुन्छ। विवाह गरेको दशवर्ष सम्म पनि छोरा वा छोरी नहने दम्पत्तिले मात्र धर्मपुत्र वा धर्मपुत्री राख्न पाउने कानूनो व्यवस्था छ। त्यसैले यदि कसैले विवाह गरेको दशवर्ष नपुगी छोराछोरी नभएको कारण देखाएर धर्मपुत्र वा धर्मपुत्री राखेमा त्यस्तो धर्मपुत्र र धर्मपुत्री स्वतः बदर हुन्छ। यसैगरी पैतालिस वर्ष उमेर पूरा नभएका अविवाहित महिला वा पुरुषले धर्मपुत्र वा धर्मपुत्री राखेमा पनि स्वतः बदर हुन्छ। यसका अतिरिक्त पैतालिस वर्ष उमेर पूरा नगरेका विधवा महिला वा विधुर पुरुष तथा सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेका छोराछोरी नभएका महिला तथा पुरुषले धर्मपुत्र धर्मपुत्री राखेमा पनि स्वतः बदर हुन्छ। यसबाट पैतालिस वर्ष भन्दा कम उमेरका व्यक्तिले धर्मपुत्र र धर्मपुत्री राख्न नसक्ने देखिन्छ।
होस ठेगानमा नभएको वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएको व्यक्तिले धर्मपुत्र वा धर्मपुत्री राखेमा पनि त्यस्तो धर्मपुत्र स्वतः बदर हुने कानूनी व्यवस्था रहेको छ। धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिनदिन हुँदैन भनी कानूनले तोकेको शर्तको उल्लंघन गरी राखेको धर्मपुत्र वा धर्मपुत्री पनि स्वतः बदर हुन्छ। उदाहरणको लागि तीन पुस्ताभित्रको नाताको व्यक्ति वा पत्नीको पूर्व पति तर्फका छोरा वा छोरी बाहेक चौध वर्ष नाघेको व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्री राखेमा स्वतः बदर हुन्छ। यसैगरी बाबु आमा पत्ता नलागेको वा बाबुआमा जीवित नभएको वा अर्को विवाह गरी बालबालिकालाई अन्य कुनै व्यक्ति वा संस्थाले पालनपोषण गरेको अवस्थामा बाहेक एउटा मात्र छोरा वा छोरीको रूपमा रहेको व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिएदिएको अवस्थामा पनि त्यो स्वतः बदर हुन्छ।
बदर भएको अवस्थामा बाहेक एकपटक धर्मपुत्र वा धर्मपुत्री भै सकेका व्यक्तिलाई पुन धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिन दिन हुँदैन। यदि कसैले धर्मपुत्र वा धर्मपुत्री भैसकेको व्यक्तिलाई पुनः धर्मपुत्र वा धर्मपुत्री लिएमा वा दिएमा स्वतः बदर हुन्छ। धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्ति भन्दा माथिल्लो नाताको व्यक्तिलाई धर्मपुत्र वा धर्म राखेमा स्वतः बदर हुन्छ। यसैगरी गैर नेपाली नागरिकलाई धर्मपुत्र वा धर्मपुत्री राख्यो भने पनि त्यो स्वतःचदर हुन्छ। यसैगरी तीनपुस्ता भित्रको नाताको व्यक्ति बाहेक धर्मपुत्र वा धर्मपुत्री हुने र राख्नेको बीच पच्चिस उमेरको फरक नराखी धर्मपुत्र वा धर्मपुत्री राखिएमा पनि त्यस्तो धर्मपुत्र वा धर्मपुत्री स्वतः बदर हुन्छ। धर्मपुत्र धर्मपुत्री हुने व्यक्तिका जैविक वावु आमाको लिखित सहमति विना राखिएको धर्मपुत्र वा धर्मपुत्री पनि स्वतः बदर हुन्छ।
धर्मपुत्र वा धर्मपुत्री बदर गराउन सक्ने ः (मुलुकी देवानी संहिता २०७४, दफा १८५)
(१) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले दफा १८१ बमोजिमको दायित्व पूरा नगरेमा कुनै धर्मपुत्र वा धर्मपुत्रीले धर्मपुत्र वा धर्मपुत्री बदर गराउन सक्नेछ । तर त्यस्तो धर्मपुत्र वा धर्मपुत्रीले अंश लिइसकेको भए बदर गराउन सक्ने छैन ।
(२) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले देहायका कुनै अवस्थामा धर्मपुत्र वा धर्मपुत्री बदर गराउन सक्नेछः–
- धर्मपुत्र वा धर्मपुत्रीले दफा १८२ बमोजिमको दायित्व पूरा नगरेमा,
- धर्मपुत्र वा धर्मपुत्रीले आफूलाई घरबाट निकाला गरेमा वा पटक पटक शारीरिक वा मानसिक यातना दिएमा,
- धर्मपुत्र वा धर्मपुत्रीले आफनो सम्पत्तिको दुरूपयोग गरेमा,
- आफनो मञ्जुरी नलिई तीन वर्ष वा सोभन्दा बढी समयसम्म आफूलाई छाडी धर्मपुत्र वा धर्मपुत्री अलग बसेमा ।
धर्मपुत्रसम्बन्धी कानुनले नेपालको पारिवारिक संरचना, सामाजिक मूल्य र धार्मिक परम्परालाई सम्बोधन गर्ने महत्वपूर्ण भूमिका खेल्दछ। मुलुकी नागरिक संहिता, २०७४ ले धर्मपुत्र अंगीकरणसम्बन्धी स्पष्ट प्रावधानहरू राख्दै कानुनी मान्यता प्रदान गरेको छ। यसले धर्मपुत्रलाई जैविक सन्तानसरह अधिकार र दायित्व सुनिश्चित गरेको छ। तथापि, धर्मपुत्र अंगीकरणमा पारदर्शिता, सहमति, र बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राख्नु आवश्यक छ। सामाजिक रूढीवादी धारणा र कानुनी प्रक्रियाको अपूरा कार्यान्वयन अझै चुनौतीपूर्ण छन्। त्यसैले, धर्मपुत्र सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन, जनचेतना र नियमन आवश्यक छ, जसले परिवारमा समावेशिता, अधिकारको सुनिश्चितता र सामाजिक न्यायलाई प्रवद्र्धन गर्न मद्दत पु¥याउँछ।
Disclaimer:
This article is intended solely for informational purposes and should not be interpreted as legal advice, advertisement, solicitation, or personal communication from the firm or its members. Neither the firm nor its members assume any responsibility for actions taken based on the information contained herein.